मानवसेवा आश्रमका ११ सय आश्रितलाई वर्ल्डलिंकको न्यानो कपडा |
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यानो कपडा उपलब्ध गराएको छ ।
बिहीबार वर्ल्डलिंक कम्युनिकेसनका निर्देशकद्वय मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख मूल्यबराबरको न्यानो कपडा वितरण गरेको जनाएको छ ।
यी कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रीमा तयार गरिएका हुन्। हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाइस्पिड इन्टरनेट निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ ।
मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटनको समयमा सुरुवातमा लाग्ने सम्पूर्ण खर्च (दश लाखं) समेत उपलब्ध गराएको थियो ।
मानवसेवा आश्रम २०७८ सालभित्र बाध्यात्मकरुपमा खुला आकाशमुनि कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखी सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि देशव्यापीरुपमा सेवा सञ्चालन गरिँदै आएको छ ।
नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रम सञ्चालित रहेको छ ।