यस पटकको ‘ग्लोकल टिन हिरो’ प्रशंसा केसी, ‘फेरि उठ्नेछ नेपाल’ को उपाधि सुवेदीलाई |
काठमाडौं । ग्लोकल प्राइभेट लिमिटेडले वाइवाइ चाउचाउको मुख्य प्रयोजनमा सञ्चालन गरेको ‘ग्लोकल टिन हिरो–१०१८’ मा यसपटक रुकुमकी प्रशंसा केसीले उपाधि चुम्न सफल भएकी छिन् । उनले उक्त प्रतियोगितामा ५ सय ३२ प्रतिस्पर्धीलाई उछिन्दै सो उपाधि हात पारेकी हुन् ।
शनिवार राजधानीमा ६ प्रतिस्पर्धीका बीचमा अन्तिम प्रधिस्पर्धामा प्रधिस्पर्धीले युवा लक्षित मौखिक प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुति, दर्शकको भोट र अन्य मापदण्डका आधारमा निर्णायक मण्डलले केसीलाई छनोट गरेको हो । रूकुमकी केसी सामाजिक कार्यमा आवद्ध छिन् ।
यस्तै, ‘फेरि उठ्नेछ नेपाल’ को उपाधि सुदर्शन सुवेदीले हासिल गरेका छन् । उक्त उपाधिका लागि अन्तिम ६ प्रतिस्पर्धीको निर्णायकमण्डलले छुट्टाछुट्टै अन्तरवार्तासमेत लिएको थियो ।
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले यस्ता प्रतियोगितामार्फत युवाहरू स्वावलम्बी बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अहिले दैनिक सयौं युवा वैदेशिक रोजगारमा जाने प्रवृत्ति छ । यस्ता कार्यक्रमले विदेशिएका नेपाली युवासमेत स्वदेश फर्किने प्रवृत्तिको विकास हुन्छ ।’
उद्योगपति निर्वाण चौधरीले यस प्रतियोगितामा मुख्य प्रायोजन गर्न पाएकोमा खुशी व्यक्त गरे । ग्लोकलका अध्यक्ष आशिष ठाकुरले सन् २०२० भित्रमा दक्षिण एशिया स्तरीय ग्लोकल टिन हिरोको आयोजना गरिने बताए ।
संयुक्त राष्ट्र संघको विकास परियोजना (यूएनडीपी) का नेपालका लागि कण्ट्री निर्देशक रेनाउद मेयर, वैद्यज अर्गनाइजेशनका सुरज वैद्य, सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक उपौल मजुम्दार, प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकारी रञ्जित आचार्य, ज्योति समूहका प्रमुख ब्राण्डिङ अधिकारी सृजना शाक्य जोशी, कोकाकोला नेपालका कण्ट्री म्यानेजर अम्बुज सिंह र ग्लोकल प्राइभेट लिमिटेडकी महाप्रबन्धक एलिना प्रजापति उक्त प्रतियोगिताका दागि यस वर्षको निर्णायक मण्डलमा रहेका थिए ।
सामाजिक कार्य, बालअधिकारकर्मी, कम्प्युटर प्रोग्रामिङ, विज्ञान, पत्रकारिता, प्रविधि, र उद्योमीजस्ता विविध क्षेत्रमा आफ्नो योगदान दिएका १३ देखि १९ वर्षसम्मका युवालाई यस प्रतियोगितामा समावेश गरिन्छ । वाइवाइले मुख्य प्रयोजन गरेको कार्यक्रमलाई सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, नेपाल टुरिजम बोर्ड, यूरोपियन युनियन, यूएनडीपी, सोल्टी क्राउन प्लाजा, कोकोकोला नेपाल, पञ्चकन्या समूह, वैद्यज अर्गनाइजेशन, होण्डा नेपाल, टर्किश एयरलाइन्स, यती एयरलगायतले सहयोग गरेका थिए ।
ग्लोकल प्राइभेट लिमिटेडले विगत ४ वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।