टिकटक अब तीन मिनेटसम्म हुन सक्ने, थाल्यो तयारी |
टिकटकले अब तीन मिनेट लामो भिडिओ बनाउने तयारी गरेको छ । छोटो र रमाइलो भिडिओका लागि चर्चित टिकटकमा प्रयोगकर्ताले अझै लामो समय बिताउन सक्ने गरी कम्पनीले परीक्षण थालेको टेक अखबार इनग्याजेटले लेखेको छ ।
इनग्याजेटका अनुसार चिनियाँ एप टिकटकले भिडिओको समयसीमा तीन मिनेट लामो बनाउन खोजिरहेको हो ।
बुधबार सामाजिक सञ्जाल विश्लेषक म्याट नवर्राले टिकटकले पठाएको मेसेज आफ्नो ट्वीट मार्फत् सार्वजनिक गरेका थिए । जसमा टिकटकका केही प्रयोगकर्तालाई परीक्षणका रूपमा तीन मिनेट लामो भिडिओ बनाउन सक्ने फिचर पाउने बताइएको थियो ।
हाल टिकटकमा ६० सेकेन्ड लामो भिडिओ बनाउन सकिने फिचर छ ।
थोरै प्रयोगकर्ताले मात्र तीन मिनेटको नयाँ फिचर आफ्नो एपमा पाएको म्याट नवर्राले बताएका छन् । यसले यो नयाँ परिवर्तन ल्याउने कुरामा एप अझै प्रारम्भिक चरणमै रहेको देखिने इनग्याजेटको भनाइ छ ।
यता टिकटक प्रयोगकर्ताले भने एपको नयाँ परिवर्तन रुचाउँछन् वा रुचाउँदैनन् भन्ने चासोको विषय भएको छ ।
समय सीमा तीन मिनेट बनाएर टिकटकले आफ्ना प्रयोगकर्तालाई कयौं सिर्जनात्मक काम गर्न स्थान दिइरहेको इनग्याजेटले बताएको छ ।
टिकटकले भने यो विषयमा हालसम्म कुनै आधाकारिक जानकारी दिएको छैन ।