१२ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा | धस्सिएको यतीको विमानलाई धेरै प्रयासपछि धावनमार्गमा ल्याइयो

काठमाडौ । शनिवार राति करिब पौने ९ बजेदेखि बन्द त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज बिहान करिब साढे ८ बजेदेखि सञ्चालनमा आएको छ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भएको विमानस्थलले जानकारी दिएको छ ।
धस्सिएको विमानलाई लामो समयको प्रयासपछि अहिले यतीकै पार्किङस्थलमा लगिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौं आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लू जेट स्ट्रिम विमान शनिबार राति ८ः३० बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर धस्सिएको थियो । उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको थिएन ।
घाँसे मैदानमा धस्सिएको विमानलाई प्राधिकरण, विमानस्थलको फायर फाइटिङका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको संयुक्त टोलीले सफलतापूर्वक धेरै प्रयासपछि धावनमार्गमा लगेको थियो ।