१७ कम्पनीको झन्डै ५ अर्ब रुपैयाँको आइपीओ आउँदै |
काठमाडौं । दोस्रो बजारमा नयाँ रेर्कड बनिरहेको बेला प्राथमिक बजारमा पनि थप ४ करोड ८९ लाख २३ हजार ७४६ कित्ता आइपीओ आउने भएको छ । प्रतिकित्ता १ सय रुपैयाँका आधारमा यो ४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी (झन्डै ५ अर्ब रुपैयाँ) को हुनेछ । पछिल्लो समय आइपीओमा आम लगानीकर्ताको निकै ठूला आकर्षण देखिएको छ । आइपीओ पाउन लगानीकर्तालाई हम्मेहम्मे हुने गरेको छ । मागको तुलनामा निकै बढी आवेदनहरु पर्ने गरेका छन् ।
यसैक्रममा, नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमतिका लागि आवेदन दिएका १५ र अनुमति पाइसकेका २ गरी कुल १७ कम्पनीले ४ करोड ८९ लाख कित्ता भन्दा बढीको आइपीओ जारी गर्न लागेका हुन् । हाल १५ कम्पनीको कुल ४ करोड ३० लाख ३२ हजार ८३६ कित्ता सेयर पाइपलाइनमा रहेको छ । धितोपत्र बोर्डसँग आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् ।
यतिबेला पाइपलाइनमा १० वटा जलविद्युत कम्पनी, ३ अन्य समूह, एउटा लघुवित्त र एक मर्चेन्ट बैंक रहेका छन् । यद्दपि, सीइडीबी हाइड्रोपावर र मैलुङ खोला जलविद्युतले आइपीओ जारी गर्न विगत लामो समयदेखि बोर्डमा अवेदन दिए पनि स्वीकृति भने पाएका छैनन् । बोर्डमा आइपीओ जारीको लागि अनुमति माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने पस्ताव पारित गरिसकेका छन् ।
यता, प्रभु लाइफ इन्सुरेन्स र चन्द्रगिरी हिल्सले भने आइपीओ जारी गर्न अनुमति पाइसकेका छन् । चन्द्रगिरीले पहिलो चरणमा आयोजना प्रचावित स्थानीयलाई मंसिर १७ गतेदेखि आइपीओ जारी गर्न मिति पनि तोकेको छ । यस्तै, प्रभु लाइफले पनि ६० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । प्राथमिक बजारमा आइपीओ जारी हुने गर्छ । त्यसरी जारी भएको सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ ।
यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ । सर्वसाधारणका लागि आइपीओ भर्ने मौका हो । साथै, यसले बजारमा आपूर्ति पनि बढाइदिन्छ । तर फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताका लागि पनि यो निकै महत्वपूर्ण मौका हो । बढ्दो बजारमा दोस्रो बजारमा सूचीकरण भएपछि भाउ वृद्धि हुने सम्भावना अधिक हुन्छ ।