नेपाल इको टुरिजम्को नमुना गन्तव्यः विज्ञहरू |

काठमाडौं । अन्तरराष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन) का लागि विश्वकै नमुना गन्तव्य भएको बताएका छन् । प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने उनीहरुको भनाई छ ।
राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को दीक्षान्त समारोहमा विज्ञहरूले यहाँको पर्यटन विकासका लागि दक्ष जनशक्तिको अभावलाई तत्कालै सम्बोधन गर्नु पर्ने बताए । नेपाल सरकारमा पर्यटन विकासप्रतिको अत्यन्त सकारात्मक सोचका साथ अगाडि बढि रहेको कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियाका राजदूत पिटर बडले बताए ।
नेपालीहरुले आफ्नै देशमा बसेर अष्ट्रेलियाको सरकारी मान्यताप्राप्त शिक्षा आर्जन गर्न सफल विद्यार्थीलाई बधाइ दिँदैे राजदुत पिटर बडले भने, ˋजनस्तरको सम्बन्ध अझ दरिलो बनाउन यस्ता शैक्षिक कार्यक्रमले थप योगदान दिनेछ ।
हाल अष्ट्रेलियामा ३० हजारभन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिरहेको छन् । नेपालमै यस प्रकारको सीपमूलक अन्तरराष्ट्रि«य मान्यताप्राप्त व्यावसायिक तालिम कार्यक्रम सञ्चालनका लागि गेट कलेजले गरेको पहललाई अरुले पनि अनुशरण गर्नु पर्ने बडको भनाई थियो ।
सो अवसरमा याक एन्ड यति होटलका महाप्रबन्धक मोनिका साइब्लरले नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव अनुभूति भइसकेको बताए । भविष्यमा धेरै होटलहरू नेपालमा आउने भएकाले त्यसका लागि चाहिने दक्ष र सीपयुक्त जनशक्ति कसरी आपूर्ति गरिने भन्ने विषयमा अहिलेबाट नै सोच राख्नुपर्नेमा उनले जोड दिएका थिए । महाप्रबन्धक साइब्लरले अन्तर्राष्ट्रिय योग्यता भएका दक्ष युवायुवतीले स्वदेशमै काम गर्नका लागि प्रेरणा प्राप्त गर्नुपर्न भन्दै सीप, क्षमता र दक्षताअनुसार नेपालमै कामका लागि आग्रह गरे ।
यसैगरी, जर्मन मास्टर सेफ ओलिभर क्लोफले भने, ‘बाहिर जानुभन्दा पहिला आफ्नो सीपलाई आफ्नै देशमा धारिलो बनाए विदेशमा हुनसक्ने सम्भावित हिनताबोधबाट बच्न सकिन्छ ।’ यसै अवसरमा संसारकै उत्कृष्टमध्ये एक स्ट्यान्फोेर्ड युनिभर्सिटीका वरिष्ठ इन्जिनियर एलेक्स नूड्काभिचले नेपाल इको टुरिजम्को नमुना गन्तव्य हुनसक्ने बताइन । स्ट्यान्फोेर्ड युनिभर्सिटीका वरिष्ठ इन्जिनियरको सात जनाको टोली हाल नेपाल भ्रमणका क्रममा छ । एलेक्स उक्त टोलीकी नेतृ हुन् ।
गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले गेट कलेज नेपालमा यस प्रकारको योग्यताका दिने, दक्षिण एसियाकै पहिलो कलेज भएको बताए । छोटो अवधिको प्राविधिक तथा व्यावसायिक तालिमले नेपाली युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने उनको भनाई थियो । आर्थिक कारणले असमर्थ युवाहरूले पनि स्वदेशमै रहेर अन्तरराष्ट्रिय सीप हासिल गर्नसक्छन्, जुन उनीहरूको भविष्यको बाटो कोर्ने माध्यम बन्नसक्छ,’ लकाईंले भने ।
अन्तरराष्ट्रिय मान्यताप्राप्त अष्ट्रेलियाको सरकारी सरकारी संस्था, टेफ (टेक्निकल एन्ड फर्दर एजुकेशन)को १ वर्षे बहुआयामिक सीपमूलक प्रशिक्षण प्रदान गरिएको यो तेस्रो वर्ष हो । सो कोर्ष अन्तर्गत तेस्रो ब्याचमा २२ जना दीक्षित भएका छन् । उक्त कोर्ष टेफले तोकेकै पूर्वाधारअनुसार सञ्चालन हुँदै आएको छ ।