माउन्टेन इनर्जी आईपीओ बाँडफाँड, १ लाख ८३ हजार २६ जना आवेदकले पाए १० कित्ता शेयर |
काठमाडौं । माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको आईपीओ आज बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नरायणचौरमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीको आईपिओमा ६ लाख ५३ हजार २ सय ९१ जनाले आवेदन दिएको थियो । त्यसमध्ये १७ सय १६ जनाको आवेदन रद्द भएको छ । बाँकि ६ लाख ५१ हजार ५७५ जना योग्य आवेदक मध्ये १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । त्यसमध्ये २० कित्ता भन्दा बढी आबेदन ५ जनालाई थप १ कित्ता गरी ११ कित्ता वाँडफाँड गरिएको हो ।
बाँकि ४ लाख ६८ हजार ५४९ जना आवेदकले भने शेयर पाएनन् । कम्पनीले कार्तिक २६ गते देखि मंसिर २ गते सम्म बिक्रीमा ल्याएको आईपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको थियो ।
कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको थियो भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणलाई निष्काशन गरेको हो ।