थाइल्याण्डले १६ करोड बराबरको औषधी तथा मेडिकल उपकरण दिने |
काठमाडौं । थाइल्याण्ड सरकारले नेपाललाई १५ लाख डलर (करिव १६ करोड ८० लाख रुपैयाँ) बराबरको औषधी तथा मेडिकल उपकरण हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको छ । आज शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाबीच भएको द्वीपक्षीय भेटवार्ता क्रममा उक्त सहमति भएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन साइडलाइनमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन् । थाइल्याण्डका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई सो सहायता सम्बन्धी प्रतीकात्मक सामाग्री हस्तान्तरण गरेका छन् । थाइल्याण्डले सो सहायता नेपालाई छिट्टै हस्तान्तरण गर्ने जानकारी दिएको छ ।