माथिल्लो तामाकोशीको आईपीओ भर्ने म्याद ७ दिन थपियो | भदौ २१ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर (आईपीओ) भर्ने म्याद ७ दिन थपिएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि निर्माणाधीन उक्त आयोजनाको आईपीओ भर्ने म्याद एक साता थप भएको हो ।
अपरतामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले आयोजना प्रभावित स्थानीय बासिन्दाले मात्र भदौ २१ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिए । उनका अनुसार साउन १६ देखि भदौ १४ गतेसम्म खुला गरिएकोमा अत्यधिक चापका कारण स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिको अनुरोधमा म्याद गरिएको हो ।
उक्त आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिएको छ भने सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन हँुदै छ ।