स्वदेशी लघुवित्तको नाफा ७४ प्रतिशत बढ्यो |
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा ७४ प्रतिशत नाफा बढाएको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ९१ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खर्च नियन्त्रण गरेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ३३ लाख ७५ हजार रुपैयाँ बढेर ९ करोड ९४ लाख ६२ हजार पुगेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २ करोड २३ लाख ४२ हजार रुपैयाँ बढेर ५ करोड २४ लाख ८२ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको कर्मचारी खर्च १ करोड २१ लाख ८३ हजार रुपैयाँ घटेका कारण खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।
२७ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ६८ लाख २२ हजार रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको चुक्ता पूँजी २३ करोड रुपैयाँ रहेको थियो भने जगेडा कोषमा २० करोड ३२ लाख रुपैयाँ सञ्चित थियो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३३ रुपैयाँ ३६ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४८ रुपैयाँ ४० पैसा पुगेको छ । त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात १६.५३ गुणा कायम भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप १ अर्ब १० करोड ८२ लाख रुपैयाँबाट बढेर १ अर्ब १८ करोड ७३ लाख, सापटी २ अर्ब ३७ करोड ३१ लाखबाट बढेर २ अर्ब ६९ करोड १६ लाख रुपैयाँ र कर्जा ३ अर्ब ७० करोड ७७ लाख रुपैयाँबाट बढेर ४ अर्ब १३ करोड १३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको निष्क्रिय कर्जा १.७० प्रतिशतबाट बढेर २.९९ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ३१ लाख रुपैयाँ छुट्याएको छ । गत आवको यसै अवधिसम्ममा लघुवित्तले यस्तो व्यवस्थाबापत १ करोड ३४ लाख रुपैयाँ छुट्याएको थियो ।