अपि पावरले डाक्यो साधारण सभा, दुई आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्ने |
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव सहित साधारण सभा डाकेको छ । कम्पनीले मंसिर ८ गते सोह्रौँ तथा सत्रौँ वार्षिक साधारण सभा डाकेको हो । सो सभा कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथलीबाट भर्चुअल माध्यम जुम एप बाट सञ्चालन हुने कम्पनीले जनाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७५∕७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६∕७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै आव २०७५∕७६ को बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत र आव २०७६∕७७ को बोनस शेयरको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसका अतिरिक्त दुबै आर्थिक वर्षको बोनस शेयर तथा ५६.७ करोडको हकप्रद शेयर निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर ०.८५६ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्न स्वीकृति पनि सो सभाले दिने प्रस्ताव रहेको छ ।
१६ औँ वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले २०७६ चैत १ गतेदेखि चैत्र ७ गतेसम्म बुकक्लोज गरिसकेको छ । यस अनुसार चैत १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेका कारोबार भइ कायम शेयरधनीहरुले आव २०७५∕७६ को बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।
१७ औँ वार्षिक साधारण सभा प्रयोजनको लागि भने कम्पनीले यही मंसिर १ गतेदेखि ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जसअनुसार सोभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु तथा १६ औँ वार्षिक साधारण सभामा प्रस्तावित ५ प्रतिशतका दरले लाभांश प्राप्त गर्ने शेयरधनीहरुले समेत आव २०७६∕७७ को खुद मुनाफा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।