नेपाल बैंकको अधिकांश सूचकमा सुधार, आम्दानी बढेपनि नाफा भने यसकारण घट्यो |
काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा बढेपनि बैंकले डिफर्ड ट्याक्स (स्थगित कर) तिर्दा बैंकको नाफा घटेको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ३ करोड १४ लाख रुपैयाँले कम हो ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको कर अघिको नाफा गत वर्ष तुलनामा बढी भए पनि यस अवधिमा बैंकले गत वर्षको तुलनामा बढी कर तिर्नु पर्दा उसको नाफा घटेको हो। बैंकले यस अवधिमा २० करोड १६ लाख वर्तमान कर तिरेको छ भने २ करोड ९३ लाख स्थगित गर तिरेको छ ।
पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १९ करोड ६४ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासको अन्त्यसम्म खुद ब्याज आम्दानी ११.५४५ र सञ्चालन नाफा २७.५९५ ले बढेको छ । वितरण योग्य नाफा १९ करोड ६४ लाख ६४ हजार रुपैयाँ छ । नेपाल बैंकको कस्ट अफ फन्ड घटेको छ । यसको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ४९ पैसा छ । तर खुद नाफामा संकुचन आउँदा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७२ पैसाबाट घटेर १९ रुपैयाँ ५१ पैसामा सीमित भएको छ ।
बैंकले गत वर्षको तुलनामा खर्च पनि नियन्त्रण गर्दै लगेको छ । बैंकको कर्मचारी खर्च ६७ करोड रुपैयाँबाट घटेर ६५ करोड रुपैयाँमा झरेको छ भने अन्य सञ्चालन खर्च १९ करोडबाट घटेर १७ करोडमा झरेको छ ।
गत वर्षको तुलनामा बैंकको खराब कर्जा भने बढेको छ । यस अवधिमा बैंकको खराब कर्जा २.७५ प्रतिशतबाट बढेर ३.०२ प्रतिशत पुगेको छ । बैंकले आगामी दिनमा खराब कर्जा नियन्त्रणमा भने ध्यान दिनुपर्ने देखिन्छ ।
बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ भने सिसिडि रेशियो ६६.५४ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकको आधार दर ६.८१ प्रतिशत छ भने स्प्रेड दर ४.३८ प्रतिशत छ ।