आज कोजाग्रत पूर्णिमा, बडा दशैको अन्तिम दिन |
काठमाडौं । आज कोजाग्रत पूर्णिमा । विजया दशैंको अन्तिम दिन, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । दशैंको जमरा तथा फूलपाती विसर्जन गर्ने दिन पनि । कोजाग्रत पूर्णिमालाई शरद पूर्णिमा पनि भनिन्छ । शरद ऋतुको यो पूर्णिमा कैयौं अर्थमा विशेष मानिन्छ ।
आजको पूर्णिमाको दिन चन्द्रमाको किरणलाई पनि विशेष मानिन्छ । शरद पूर्णिमामा चन्द्रमा १६ कलाले परिपूर्ण हुन्छ । यो दिन चन्द्रमाबाट केही विशेष गुण प्रवाहित हुन्छन् ।
धेरै वैद्यहरु यो दिन जीवन रक्षक विशेष औषधि निर्माण गर्छन् । हिन्दु परम्परामा कोजाग्रत पूर्णिमालाई धेरै महत्वपूर्ण मानिन्छ ।
कोजाग्रत पूर्णिमाको दिन चन्द्रमाको प्रकाश अगाडि खिर पकाउँदा लक्ष्मी प्रसन्न हुने विश्वास गरिन्छ । साथै उक्त खिर खाँदा औषधीय लाभ प्राप्त हुने पनि जनविश्वास छ ।
यस्तै औषधीजन्य जडिबुटीको परीक्षणका लागि पनि आजको पूर्णिमालाई विशेष मानिन्छ ।
कोजाग्रत पूर्णिमालाई महापूर्णिमा पनि भनिन्छ । आज राति पूर्ण चन्द्रबाट अमृतमयी सोमवृष्टि हुने विश्वास गरिन्छ । चन्द्रमाको किरणबाट मोतीको वर्षा हुने विश्वासका साथ कोजाग्रत पूर्णिमामा समुद्रमा समेत विशेष पूजा गरिन्छ ।
कोजाग्रत पूर्णिमामा धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दा विशेष फल प्राप्त हुन्छ । आजको दिन जागा भएर को व्यक्ति बसेको छ भनेर माता लक्ष्मीले पूरै ब्रह्माण्डको भ्रमण गर्ने गर्छिन् । त्यसैले आज राति जागराम समेत बस्ने गरिन्छ ।
हिन्दू धर्मावलम्वीहरु आजको दिन व्रत समेत बस्ने गर्छन् यो व्रत सन्ताको लामो आयू र सुख–समृद्धिका लागि गर्ने गरिन्छ ।