काठमाडौं उपत्यकामा ८४३ संक्रमित थपिए |
काठमाडौं । पछिल्लोे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा देशभर भने १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन् भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।
यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।