अर्थतन्त्र निर्माणको पहिलो खुट्किलोमा छौं : अर्थमन्त्री, दोहोरो कर लगाउन पाइँदैन ː व्यवसायी |

काठमाडौं । हामी सबै अर्थतन्त्र निर्माणको पहिलो खुट्किलोमा रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । हामीले लगातार दुई वर्ष ६ प्रतिशतको आर्थिक वृद्घि गर्न सफल भएका छौ, उनले भने,ʽचालू आर्थिक वर्षमा यो भन्दा मार्थिको आर्थिक वृद्घिको लक्ष्य राखेका छौ ।ʼ अर्थमन्त्री खतिवडाले मुलुक अर्खरै आर्थिक सम्वृद्घिको बाटोमा हिडन शुरु गरेकाले अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं वार्षिक साधारण सभालाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रमा कुनै खतरा नरहेको हुनाले सवल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले छोप्ने प्रयास गर्न नहुने बताए ।
अर्थमन्त्री खतिवडाले व्यापार घाटा हुन नदिन निर्यात व्यापारका लागि क्षमता वृद्धि गर्न पनि सरकारले अहिले पनि कतिपय आयातित बस्तुहरुमा जोड दिनु परेको पनि स्पष्ट पारे । निर्यात व्यापारका लागि क्षमता अभिवृद्धि गर्न आवश्यक प्रविधि, कच्चा पदार्थ, परामर्शदातालगायतका बस्तुहरु नेपालको लागि अतिआवश्यक रहेको उनको भनाई थियो । । सरकारले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको अर्थमन्त्री खतिवडाले बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणाले देशमा सङघियता आए पनि यसलाई समन्वय गरेर अगाडि बढन सरकारले नसकेको बताइन । स्थानिय निकायले जथाभावी कर लगाएकाले सरकारले यसलाई रोक्नु पर्ने उनको भनाई थियो । सरकारले गत आर्थिक वर्ष (आव) मा ३० हजार करोड राजश्व उठाएको छ, नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष हरिभक्त शर्माले भने, ʽयसको प्रयोग सहि ठाँउमा हुनु पर्छ ।ʼ विश्वका धनी देशहरुले जीडीपीको १२⁄१५ प्रतिशत कर लगाउने गरेको उल्लेख गर्दै शर्माले भने हाम्रो जस्तो गरिब देशहरुले २०⁄२२ प्रतिशत कर लगाउँछन् । तर नेपालले जीडीपीको ३० प्रतिशत कर लगाएको छ, शर्माले भने, ʽकर धेरै लगाए पछि त्यसको सदुपयोगमा पनि चनाखो हुनु पर्छ ।ʼ
कार्यक्रममा बोल्दै नेपाल च्याम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले देशको अर्थतन्त्र उत्पादनमुखी हुनु पर्नेमा जोड दिए । दोहोरो करका बिषयमा पनि सरकार गम्भिर बन्नु पर्ने उनको भनाई थियो ।