नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारमा सरकार गम्भिर ː प्रधानमन्त्री ओली |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सुझाव दिँदै लकडाउन भएयता थुप्रै अफवाह चलेपनि जनताको सकारात्मक सहयोगका कारण मृत्यु दर बढ्न नपाएको दावी गरेका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताएका छन् । उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने भन्दै हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएको बताए । उनले महामारीविरुद्धको लडाइँमा महामारी र महाविपत्तिमा नागरिकमा राज्यको सधै साथ रहने आश्वसन समेत दिए ।
‘नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सम्वन्धमा सरकार विमुख हुन सक्दैन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अनिश्चय र आशंकाको बीचमा विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । संक्रमणको ख्याल गर्नुपर्ने भएको छ । त्यसप्रति विशेष सजग भएर मनाउन आग्रह गर्दछु ।’