सरकार र चाइना थ्री गर्जेजबीचको आजको वार्ता पनि विफल | थ्री गर्जेजले राखेका प्रस्तावलाई बोर्ड बैठकमा लगिँदै
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले ७५० मेगावाटको पश्चिमसेती आयोजनाको समस्यासम्बन्धमा आज बसेको वार्ता पनि विफल भएको छ । लगानी बोर्ड र चाइना थ्री गर्जेजबीच बसेको बैठक निष्कर्षविहीन भएपछि आज अर्थमन्त्री डा. युवराज खतिवडा, जलस्रोत, ऊर्जा, सिँचाइमन्त्री वर्षमान पुन र लगानीबोर्डका सीईओ महाप्रसाद अधिकारी र थ्री गर्जेजका अध्यक्ष जाओ जियाङक्वाङबीच भएको बैठक बसेको थियो ।
तर, आज बसेको बैठक पनि विफल भएपछि सरकार थ्री गर्जेजले पश्चिम सेती आयोजना नबनाउने निष्कर्षमा पुगेको छ । थ्री गर्जेजले क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको छ ।
आजको बैठकमा थ्री गर्जेजले थप शर्तमाथि शर्त अघि सारेको बताइएको छ । लगानी बोर्डले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा थ्री गर्जेजले राखेका प्रस्तावलाई लैजाने र त्यसपछि आवश्यक निर्णय गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) अधिकारीले बताएका छन् ।