घरैबाट केवाइसी विवरण भर्न पाइने, बोर्डले स्वीकृत गर्यो निर्देशिका |
काठमाडौं । अब सेयर लगानीकर्ताहरूले विद्युतीय माध्यमद्वारा घरैबाट ग्राहक पहिचान पत्र (केवाइसी) भर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्बन्धी कार्य संचालन निर्देशिका २०७७ स्वीकृत गरेसँगै लगानीकर्तालाई सहज हुने भएको हो ।
लगानीकर्ताहरुले अब घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारीमार्फत आफैं व्यक्तिगत पहिचानसहितको केवाइसी विवरण भर्न सक्ने बोर्डले जनाएको छ । लगानीकर्ताहरुलाई धितोपत्र बजारमार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसँग सम्बन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउनको लागि यो निर्देशिका जारी गरेको बोर्डले जनाएको छ ।
कोरोना महामारीले गर्दा लगानीकर्ता धितोपत्र व्यावसायीकहाँ गएर ग्राहक पहिचान फारम भर्न असहज देखिएकाले घरैबाट भर्न मिल्ने बनाउन निर्देशिका स्वीकृत गरेको बोर्डको भनाई छ । बोर्डले यो निर्देशिका कार्यान्वयन गर्नका लागि बुधबार सीडीएस एण्ड क्लियरिङ पठाइएको जनाएको छ । निर्देशिकामा सातवटा मुख्य व्यवस्था छन् ।