बिमस्टेक सम्मेलनका लागि को को आइपुगे, को को बाँकी ? |

काठमाडौं । भोलि र पर्सि काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि बिमस्टेक सदस्य राष्ट्रका विशिष्ट पाहुनाहरू र राष्ट्र प्रमुखहरू आउने क्रम जारी छ ।
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति विन मिन्त हिजै काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।
बंगलादेशका विदेश सचिव मोहम्मद शहिदुल, भारतका विदेश सचिव विजयकेशव गोख्ले, म्यान्माको विदेश मन्त्रालयका नायव महानिर्देशक विन जेयार तुन, श्रीलंकाका अतिरिक्त सचिव रविनाथा पी आर्यसिन्हा र थाइल्याण्डको परराष्ट्र मन्त्रालयका स्थायी सचिव बुसाया माथेलिन यसअघि नै काठमाडौं आएर सचिवस्तरीय बैठकमा सहभागी भइसकेका छन् ।
त्यस्तै, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय, बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुद अली, श्रीलंकाका विदेश राज्यमन्त्री वसन्ता सेनानायके पनि मंगलबार नै काठमाडौ आइपुगेर आजको मन्त्रीस्तरीय बैठकमा सहभागी भइसकेका छन् ।
आज भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक नेपाल आइपुगेका छन् भने आजै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना पनि आइपुग्ने कार्यक्रम छ ।
बिमस्टेक सम्मेलन हुने दिन भोलि बिहीबार ३ देश भारत, बंगलादेश र थाइल्याण्डका सरकार प्रमुख नेपाल आउँदै छन् । भोलि बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा नेपाल आउने कार्यक्रम रहेको छ ।