गुराँस लाइफले बोलायो साधारण सभा, बुकक्लोज कहिले ? |
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७४∕७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ । इन्स्योरेन्सले मंसिर ४ गते कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा डाकेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत अर्थात शतप्रतिशत हकप्रद निष्काशन पश्चात नेप्सेमा सूचीकरण भई वृद्धि भएको चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेकोमा हकप्रद शेयर सूचीकरण पश्चात बढेर १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम भएको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ४८ हजार ६०० रुपैयाँ पुग्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।