सिटिजन्सले तिनाउ मिसनलाई एक्वायर गर्ने, प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई एक्वायर गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी कात्तिक १ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
शनिबार तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
२०७७ कार्तिक १ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब १५ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव ९८ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिपश्चात बैंकको कुल शाखा १६४ हुनेछ । हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
शेयर स्वाप रेसियो विस्तृत मूल्यांकनप्रतिवेदनद्वारा सिफारिस भएबमोजिम निर्धारण गर्ने सहमति भएको छ । प्राप्तिपश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्यक्षमताको अभिवृद्धि भई ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशलतथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।