बिमस्टेक सुरक्षाको पहिलो घेरामा सेना रहने | १८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गर्दै १८ हजार सुरक्षाकर्मी परिचालन गरिँदै छ ।
विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले पहिलो पटक आयोजना गर्ने यो सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट जनशक्ति परिचालन गर्दैछ । अहिले सेनाको कमान्डमा सम्मेलनस्थल होटल सोल्टीमा सुरक्षाकर्मी परिचालन भइसकेका छन भने उपत्यकाको सुरक्षा ब्यवस्था सोमबार बिहानबाट कडा बनाइएको छ ।
नेपाल–भारत खुल्ला सिमानाका कारण सुरक्षामा असहजता नआओस भन्ने हेतुले नेपाल भित्रिने मुख्य नाकामा समेत सुरक्षा निगरानी बढाइएको छ ।
सम्मेलन सुरक्षाको पहिलो घेरामा सेना खटिदैछ भने सबै सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखको सुरक्षा जिम्मेवारी समेत सम्हाल्दै छ । सुरक्षाको दोस्रो र तेस्रो घेरामा क्रमशः नेपाल प्रहरी, सशस्त्र र अनुसन्धानको टोली परिचालन हुँदैछ ।