बिमस्टेकको सचिवस्तरीय बैठक जारी, विभिन्न एजेण्डामा छलफल हुँदै | म्यानमारका राष्ट्रपति विन मिन्ट आज आउँदै

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय)हरू को १९औं बैठक आज बिहान ९ बजेदेखि काठमाडौंमा शुरू भएको छ । सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बस्ने बिमस्टेक शिखर सम्मेलनको प्रावधान रहेको छ । त्यही प्रावधानअनुसार सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बसेको हो । आज बसेको सचिवस्तरीय बैठकमा आठभन्दा बढी एजेण्डामा छलफल भइरहेको छ ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार बैठकमा सहभागी हुन बिमस्टेकका सदस्य राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका विदेशसचिवहरू सोमबार नै काठमाडौं आएका थिए । यही सचिवस्तरीय बैठकले पास गरेका एजेण्डामाथि भोलि बुधवार बस्ने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा छलफल गरिन्छ र पास भएका एजेण्डा बिहीवार र शुक्रवार बस्ने बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको बैठकमा लगिनेछ । सहमति जुटेका समझदारी तथा सम्झौतापत्रमा अन्तिममा हस्ताक्षर गरिनेछ ।
बैठकमा अध्यक्षता परराष्ट्र सचिव शंकर दास वैरागीले गरिरहेका छन् । बिमस्टेकका महासचिव शहिदुल इस्लामले बैठकमा विशेष सम्बोधन गरेका छन् भने त्यसपछि बैठकमा एजेण्डामाथि केन्द्रित भएर छलफल भइरहेको छ । बैठकमा व्यापार तथा लगानी, यातायात तथा सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण, जनस्वास्थ्यलगायतका मुद्दालाई प्रमुख एजेण्डा बनाइएको छ ।
बैठकमा बिम्स्टेक महासचिवले प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । त्यसपछि बिमस्टेकले हासिल गरेको प्रगतिको समीक्षा, भन्सारसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल, बिमस्टेक यातायात कनेक्टिभिटी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल, बिमस्टेक मोटर भेइकल एग्रिमेण्ट र बिमस्टेक कोस्टल सिपिङ एग्रिमेण्टमा पनि छलफल हुने बताइएको छ ।
बिमस्टेक विज्ञ समूहले तयार पारेको ‘टेक्नोलोजी ट्रान्सफर फेसिलिटी (टीटीएफ) प्रतिवेदन, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराधसम्बन्धी प्रतिवेदन, कृषिक्षेत्रमा सहयोगसम्बन्धी प्रतिवेदन, गरिबी निवारणसम्बन्धी प्रतिवेदन, परम्परागत चिकित्सा पद्धतिसम्बन्धी प्रतिवेदन छलफलका लागि बैठकमा पेस गरिने परराष्ट्रले जानकारी दिएको छ ।
राष्ट्रप्रमुखको नेपाल आउने यस्तो छ तालिका
सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट आज आउँदै छन् । बुधवार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङ्चुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत आउँदै छन् । यस्तै, भदौ १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
बिमस्टेक सदस्य राष्ट्र भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्डका विदेशमन्त्री तथा विदेश राज्यमन्त्री विदेशमन्त्रीहरू बिमस्टेक सम्मेलनको मन्त्रीस्तरीय बैठकमा भाग लिन मंगलवार काठमाडौं आउँदैछन् । बुधवार काठमाडौंमा बिमस्टेकका विदेशमन्त्रीहरूको १६औं बैठक बस्नेछ । बैठकले हस्ताक्षरका लागि तयार पारिएका समझदारी तथा सम्झौतापत्र र काठमाडौं घोषणापत्रलाई अन्तिम रूप दिनेछ ।