साझा विद्युतीय बसमा राष्ट्रपति सरर
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटन ढोका पुगेकी छिन्। राष्ट्रपति भण्डारी आज (शनिवार) दिउँसो शीतल निवासबाट विद्युतीय बस चढेर पाटन ढोका पुगेकी हुन् ।
हाकुपटासीमा सजिएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरिन् । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन् ।
पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगिन् । पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिइन् । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा नै शीतल निवास फर्किएकी हुन् । -रासस