तीनवटा भेहिकल टेष्टिङ सेण्टर स्थापना गरिँदै |

काठमाडौं । यातायात व्यवस्था विभागले चालू आर्थिक वर्षभित्र तीनओटा भेहिकल टेष्टिङ सेण्टर (सवारी परीक्षण केन्द्र) स्थापना गर्ने भएको छ । यस्तो सेण्टरको स्थापनापछि सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विभागको विश्वास छ ।
सवारीसाधनको प्राविधिक पक्षलाई जाँच गरेर मात्रै सडकमा चलाउने गरी उक्त कार्यालयहरू स्थापना गर्न लागिएको हो । नेपालमा सवारी दुर्घटनामा दोस्रो ठूलो कमजोरी सवारीसाधनको प्राविधिक पक्ष रहेको तथ्यांक र गुनासो धेरै आएपछि सवारीसाधनको प्राविधिक परीक्षणका नयाँ सेण्टरहरूको स्थापना गर्न लागिएको हो ।
नेपालमा हालसम्म सवारी परीक्षण केन्द्र एउटा मात्र रहेको छ । काठमाडौंको टेकूमा रहेको उक्त कार्यालयले सन्तोषजनक रूपमा काम गर्न सकिरहेको छैन । विभागले आगामी दिनमा हेटौंडा, बुटवल र सम्भव भएसम्म काठमाडौंमा थप अर्को पनि यस्तो केन्द्र सञ्चालनमा ल्याउनका लागि अध्ययन शुरू गरेको छ । विभागले परामर्शदाता नियुक्त गर्न सूचनासमेत जारी गरेको छ ।