सानिमा जनरल इन्स्योरेन्समा झण्डै ९ लाखले गरे आवेदन, आइपीओमा अर्काे रेकर्ड |
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा झण्डै ९ लाखले आवेदन गरेका छन्। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको छ ।
आइतबारदेखि इन्स्योरेन्सको शेयर बिक्री बन्द भएको छ । बिक्री बन्द भएपनि बैंकमार्फत आवेदन दिने लगानीकर्ताको आवेदन अझै थप हुने छ । यसकारण अन्तिम नतिजा आँउदा यसको सँख्या अझै बढ्न सक्छ। इन्स्योरेन्सको शेयरमा हालसम्मकै धेरै आवेदन परेको छ । आईपिओमा लगानी गर्ने लगानीकर्ताको सँख्या दैनिक बढ्दो छ । यसैकारणा हरेक सार्वजानिक निष्काशनमा आवेदन गर्ने लगानीकर्ताको सँख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ ।
इन्स्योरेन्सको आइपीओमा १ अर्ब ९० करोड १२ लाख ३४ हजार रुपैंया बराबरको १ करोड ९० लाख १२ हजार ३४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो मागभन्दा ६.९६ गूणा बढी हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्बसाधारणमा बिक्री खुल्ला गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।