महिन्द्राको प्लस न्यू एक्सयूभी ५०० बजारमा | मूल्य ६१ लाख ८० हजार रुपैयाँ
काठमाडौं । महिन्द्राको प्लस न्यू एक्सयूभी ५०० नेपाली बजारमा सार्वजनिक भएको छ । महिन्द्राको नेपालको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले आज एक कार्यक्रमको आयोजना गरी उक्त गाडी विक्रीको शुरुवात गरेको हो ।
प्लस न्यू एक्सयूभी ५०० मा १५५ हर्षपावर र ३६० एनएम टर्कशक्ति छ । छैटौं पुस्ताको विद्युतीय रूपमा नियन्त्रित भेरिएबल जियोमेट्री टर्बो चार्जरले यो गाडीलाई बढी ऊर्जायुक्त र उत्कृष्ट बनाएको कम्पनीको भनाइ छ । आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो गाडीले स्पोर्ट युटिलिटी भेहिकलमा नयाँ उचाइ कायम गर्ने कम्पनीको दाबी छ ।
महिन्द्रा एण्ड महिन्द्राका अन्तरराष्ट्रिय विभाग दक्षिण एशियाका उपाध्यक्ष सञ्जय जादबले प्लस न्यू एक्सयूभी ५०० ले नेपाली बजारमा नयाँ उचाइ छुने बताए । अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले नयाँ गाडीले ड्राइभिङको आनन्द र उत्साह बढाउने बताए । कम्पनीका अनुसार ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पसहितको विद्युतीय सनरुफ, न्यू स्मार्ट वाच कनेक्टिभिटी, जीपीएस नेभिगेशनसहित सात इन्चको टचस्क्रिन इन्फोटेन्मेन्टसमेत उक्त गाडीमा जडान गरिएको छ ।
कम्पनीका अनुसार ६ वटा एयरब्याग, एबीएससहित ईबीडी र उकालो र ओरालो लाग्दा नियन्त्रणमा रहने गरी सबै चक्कामा डिस्क ब्रेक उपलब्ध छ । यो गाडीको मूल्य ६१ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।