फोर्ब्सको धनाढ्य सूचीमा नेपालका विनोद चौधरीदेखि पूर्वराजासम्म |

काठमाडौं । फोर्ब्स म्यागेजिनले नेपालका टप १० धनी व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । विश्वकै चर्चित उक्त म्यागेजिनले वर्षेनि विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्ने गर्छ । यसै शन्दर्भमा यसले नेपालका सर्वाधिक धनीहरूको नाम र सम्पत्ति विवरणसहितको सूची प्रकाशित गरेको छ । जसमा पहिलो नम्बरमा अर्बपति विनोद चौधरीदेखि दशौं नम्बरमा पूर्वराजा ज्ञानेन्द्र शाहसम्म परेका छन् ।
टप १० धनीको यस्तो छ सम्पत्ति विवरण:
१. विनोद चौधरी
फोर्ब्स म्यागेजिनले सार्वजनिक गर्ने अर्बपतिहरूको सूचीमा नेपालबाट पहिलो पटक विनोद चौधरी परेका थिए । उनी विश्वका अर्बपतिहरूको सूचीमा १३४२ औं नम्बरमा रहेका छन् । नेपालकै धनी व्यक्तिहरूको सूचीमा भने विनोद चौधरी पहिलो नम्बरमा रहेका छन् । उनको कुल सम्पत्ति १.२ विलियन अमेरिकी डलर रहेको छ । हाल चौधरी ग्रुपको अध्यक्ष रहेका उनको स्वदेश र विदेशमा गरी ८० वटा कम्पनी रहेका छन् ।
२. शेष घले
गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घले फोर्ब्सले जारी गरेको नेपालका धनी व्यक्तिहरूको सूचीमा दोस्रो नम्बरमा रहेका छन् । मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीका सीईओ रहेका घलेको कुल सम्पत्ति २६५ मिलियन डलरभन्दा बढी रहेको छ । उनी अष्ट्रेलियाका ९९औं धनी व्यक्तिका रूपमा फोर्ब्समा सूचिकृत भएका छन् ।
३. उपेन्द्र महत्तो
नेपालको सर्वाधिक धनी व्यक्तिको सूचीमा उपेन्द्र महत्तो तेस्रो नम्बरमा रहेका छन् । इलेक्ट्रोनिक व्यापारीका रूपमा रहेका महत्तो हाल रूसको भोरोनेजमा टेलिभिजन कारखाना सञ्चालन गरिरहेका छन्, जसले वार्षिक १ मिलियन टेलिभिजन सेट उत्पादन गर्दै आएको छ । उनको कुल सम्पत्ति २५० मिलियनदेखि १ विलियन अमेरिकी डलरसम्म रहेको छ ।
४. अजय सुमार्गी
मकवानपुरको हेटौंडामा जन्मिएका अजय सुमार्गी साना व्यवसायबाट एक्कासि माथि पुगेर धेरै धनसम्पत्ति आर्जन गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निकट सहयोगीसमेत रहेका उनी नेपालको चौथो धनी व्यक्तिका रूपमा फोर्ब्समा सूचिकृत भएका छन् । मुक्तिश्री प्राइभेट लिमिटेडमार्फत अनेक कम्पनी सञ्चालन गरिरहेका उनीसँग २ सय मिलियन डलरभन्दा बढी सम्पत्ति रहेको छ ।
५. आदित्य झा
जनकपुरमा जन्मेका आदित्य झा नेपालका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा पाँचौं नम्बरमा रहेका छन् । गैरआवासीय नेपालीका रूपमा रहेका उनी क्यानडा पुगेर स्थापित व्यवसायी बनेका छन् । व्यवसायी, समाजसेवी तथा परोपकारी व्यक्तिका रूपमा चिनिएका झाको कुल सम्पत्ति १ सय मिलियन डलरबराबर रहेको छ ।
६. जीवा लामिछाने
गैरआवासीय नेपाली जीवा लामिछाने रूसमा टेक्नो ट्रस्ट नामक टीभी कम्पनी सञ्चालन गरी रूसी बजारमा इल्सन ब्राण्डको एलसीडी टेलिभिजनको व्यापार गर्दै आएका छन् । उपेन्द्र महत्तोसँग मिलेर काम गरेका लामिछाने नेपालका छैटौं धनी व्यक्तिका रूपमा सूचिकृत भएका छन् । उनको कुल सम्पत्ति ९२ मिलियनबराबरको सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ ।
७. पशुपति शमशेर
नेपालको सातौं धनी व्यक्तिका रूपमा फोर्ब्समा सूचिकृत भएका पशुपतिशमशेर राणा कुनै समय राजाभन्दा पनि धनी व्यक्तिका रूपमा चिनिन्थे । राणा खानदानबाट राजनीतिमा छाएका उनले पूर्वभारतीय राजपरिवारकी छोरी बिहे गरेर ल्याउँदा २५ हजार मिलियन रूपैयाँ दाइजोस्वरूप ल्याएका थिए । उनीसँग ८४ मिलियन डलरबराबरको सम्पत्ति रहेको छ ।
८. बलराम चेन्राई
हडकङमा बसेर व्यापार व्यवसाय गर्ने बलराम चेन्राई रियल स्टेट र इलेक्ट्रोनिक्स व्यवसायमा जमेका नेपाली मूलका व्यवसायी हुन् । नेपालको ओखलढुंगामा जन्मिएका उनी आफ्ना बेलायती लाहुरे बुबासँगै हङकङ गएका थिए । उनीहसँग ७० मिलियन अमेरिकी डलरबराबरको सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ ।
९. राजेन्द्र खेतान
खेतान परिवारले नेपालमा शताब्दीऔंदेखि व्यापार व्यवसाय गर्दै आएको छ । खेतान समूहको नेपालमा १३ वटा कम्पनीको स्वामित्व रहेको छ । उनी लक्ष्मी बैंकको अध्यक्षसमेत रहेका छन् । उनीसँग ६२ मिलियन डलरको सम्पत्ति रहेको उल्लेख गरिएको छ ।
१०. ज्ञानेन्द्र शाह
सन् २००१ देखि २००८ सम्म नेपालमा शासन गरेका पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका दशौं धनी व्यक्तिमा फोर्ब्समा सूचिकृत भएका छन् । उनीसँग १७ वटा कम्पनीको शेयर रहेको छ । उनी नेपालका धनीहरूमध्येमा परेका छन् । उनीसँग ५८ मिलियन अमेरिकी डलरबराबरको सम्पत्ति रहेको फोर्ब्सको रिपोर्टमा उल्लेख छ ।
(स्रोत ः फोर्ब्स म्यागेजिन))