चिनियाँ नागरिकले नेपालबाट विच्याट–पेमार्फत भुक्तानी गर्न सक्ने |
काठमाडौं । विच्याट–पे चीनमा लोकप्रिय भुक्तानीको माध्यम हो। नेपालीहरू चीन पुग्दा पनि अधिकांश विच्याट–पेकै बाटो प्रयोग गर्नुपर्छ । तर, चिनियाँहरू नेपाल आए भने यो सुविधा थिएन । हामीले गर्दै आएका बैंकिङ, भुक्तानी प्रणालीकै भर पर्नुपर्थ्यो ।
वर्षेनी नेपाल आउने चिनियाँहरूको संख्या बढ्दो र भुक्तानीमा यही समस्या मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले भने हालसालै यो सेवा सुरू गरेको छ ।
नेपाल घुम्न आएका चिनियाँ नागरिक लक्षित गरी माछापुच्छ्रेले नेपालमै पहिलोपटक विच्याट–पे सुरू गरेको जनाएको छ ।
’विच्याट पे, चीनमा सबभन्दा लोकप्रिय पेमेन्ट प्लेटफर्म हो । अहिले सबैको हातमा यही हुन्छ,’ माछापुच्छ्रे बैंक डिजिटल मार्केटिङ इन्चार्ज विनय रेग्मीले भने, ’उताको सरकारले पैसा पनि चल्तीमा ल्याउ भनेर अपिलसमेत गरेको थियो । चिनियाँ नागरिकको सहजता ध्यानमा राखेर बैंकले अहिले विच्याट वालेट पेमेन्ट सुरू गरेको हो ।’
कोरोनाका कारण भ्रमण वर्ष स्थगित गरे पनि आर्थिक क्षेत्र उकास्न पर्यटन क्षेत्रकै सहारा लिनुपर्छ। नेपाल घुम्न आउने पर्यटकको ठूलो हिस्सा चिनियाँ नागरिकले नै ओगट्छन् ।
’विच्याट–पेको उद्देश्य यहाँ घुम्न आउने चिनियाँ पर्यटकलाई होटल, रेस्टुरेन्ट, गिफ्ट पसल आदिमा सहजता ल्याउनु हो,’ रेग्मीले भने, ’त्यसैले हाम्रो लक्ष्य पनि चिनियाँ रेस्टुरेन्ट, होटल साथै पर्यटकीय क्षेत्रमा हुने व्यापार व्यवसाय नै हुन् ।’