सामसुङको ग्यालेक्सी नोट–९ नयाँ दिल्लीमा सार्वजनिक | नेपाली बजारमा आगामी शुक्रवारदेखि, मूल्य रू. १ लाख ९ हजार ९ सय
काठमाडौं । सामसुङले दक्षिण पश्चिम एशिया क्षेत्रका लागि गत बुधवार आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले भारतको राजधानी नयाँ दिल्लीमा आफ्नो नयाँ उत्पादन ‘ ग्यालेक्सी नोट–९’ सार्वजनिक गरेको हो ।
सामसुङ इलेक्ट्रोनिक्सका आईटी र मोबाइल कम्युनिकेशन विभागका ग्लोबल अध्यक्ष तथा कार्यकारी अधिकृत डिजे कोहले उक्त उत्पादन सार्वजनिक गरेका हुन् । भारतका साथै दक्षिण पश्चिम एशिया क्षेत्रबाट उपस्थित भव्य सभालाई सम्बोधन गर्दै कोहले सामसुङले आफ्नो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली ग्याजेट ग्यालेक्सी नोट–९ सार्वजनिक गरेको जानकारी दिए ।
ग्यालेक्सी नोट–९ मा रहेको ब्याट्री दिनभर कुरा गर्न, गेम खेल्न, बिहानदेखि रातिसम्म फिल्म हेर्न पर्याप्त हुन्छ । जसले गर्दा दिनमा ब्याट्री चार्ज गर्नुपर्ने झन्झटबाट यो नोटका प्रयोगकर्तालाई मुक्ति मिल्छ । त्यस्तै, वायरलेस चार्जिङ सिष्टमको सुविधा पनि यसमा उपलब्ध छ ।
ग्यालेक्सी नोट–९ मा आन्तरिक भण्डारण क्षमता १ सय २८ जीबी, माइक्रोएसडी कार्डका साथै फोटो, भिडियो र एप्सलगायत सामग्री राख्नका लागि १ टीबी ठाउँ रहेको छ । १० एनएम प्रोसेसर र नेटवर्कलाई अझ तीव्र वनाउने प्रविधि भएको हुँदा यो एकदमै शक्तिशाली स्मार्ट फोन पनि हो ।
ब्लूटुथ कनेक्टिभिटी रहेको यसको एस पेनले रिमोटले जस्तै परबाटै सेल्फी खिच्न सकिन्छ । त्यस्तै, एचडीएमआई केबलको सहायताले नोटलाई डेस्कटपसँग जोडी चलाउन पनि सकिन्छ ।
ग्यालेक्सी नोट–९ ले फोटो गुणस्तरहीन आयो भने तुरुन्तै सूचना पनि दिने गर्छ । यसले एकदमै स्पष्ट र सफा फोटो खिच्ने गर्दछ । उक्त फोन नेपाली बजारमा आगामी शुक्रवारदेखि उपलब्ध हुने बताइएको छ । यसको मूल्य नेपाली बजारमा रू. १ लाख ९ हजार ९ सय ताकिएको छ ।