ब्रोकर कमिसन घटाउन लगानीकर्ताको माग |
काठमाडौं । ब्रोकर कमिसन घटाउन माग राख्दै सेयर लगानीकर्ताहरु सोमबार धितोपत्र बोर्ड पुगेका छन् । लगानीकर्ताका ३ वटा संगठनका प्रतिनिधिहरुले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भेटेर तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका हुन् ।
पुँजी प्रविधिमैत्री बन्दै गएको र कारोबार भोल्यूम समेत बढेको भन्दै लगानीकर्ताहरुले तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका हुन् । अहिले धेरै लगानीकर्ताले अनलाइनमार्फत आफैं सेयर किनबेच गर्न थालेका छन् । यस्तो अवस्थामा ब्रोकरको कामको प्रेसर पनि घटेको छ । यसर्थ, हाल कायम ब्रोकर कमिसन उच्च भएकाले तत्काल घटाउनुपर्ने उनीहरुले बोर्ड अध्यक्षसमेत माग गरे ।
छलफलमा सहभागी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘पछिल्लो समय सेयर कारोबार प्रविधिमैत्री बन्दै गएको छ । यस्तो अवस्थामा अहिलेको ब्रोकर कमिसन उच्च हो । यसलाई घटाउन हामीले धितोपत्र बोर्डलाई अनुरोध गरेका छौं ।’ लगानीकर्ता प्रविधिमैत्री बन्दै गएकाले ब्रोकर कम्पनीहरुलाई कम जनशक्तिले पनि पुग्ने अवस्था आएको उनीहरुको दाबी छ । छलफलमा लगानीकर्ताहरुले अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्दा पनि नेपालको ब्रोकर कमिसन उच्च रहेको अवगत गराए ।
ब्रोकर कमिसन घटाउने सम्बन्धमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना पनि सकारात्मक देखिएका इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले जानकारी दिए । अहिले न्यूनतम ०.४५ देखि अधिकतम ०.६५ सम्म रहेको ब्रोकर कमिसन ०.२५५ सम्म झार्न आफूहरुले माग राखेको अध्यक्ष रौनियारले नेपाली पैसालाई जानकारी दिए । विगत लामो समयदेखि लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नियामक निकायसँग आग्रह गर्दै आएका छन् ।
यस्तै, नेप्सेको अनलाइन प्रणाली र टीएमएसमा देखिएको समस्याका बारेमा पनि छलफल भएको अध्यक्ष रौनियारले बताए । यसमा बोर्डले पर्याप्त काम गरेको र केही समयपछि अनलाइन प्रणाली र टीएमएसमा देखिएको समस्या समाधान हुने अध्यक्ष ढुंगानाले जानकारी गराएका छन् । छलफलमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना, कार्यकारी निर्देशक निरज गिरी सहभागी थिए ।
यता, लगानीकर्ताहरुका तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, उपाध्यक्ष तुलसीराम ढाकल सहभागी थिए । त्यस्तै, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, उपाध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सहभागी थिए ।