सेफ्टी अडिटपछि मात्र नेपालले कोरियाका लागि उडान अनुमति पाउने | अडिटको गाइडलाइन्स निगममा पुग्यो, सेफ्टी अडिटका लागि टोली नेपाल आउँदै

काठमाडौं । नेपाल वायु सेवा निगमले दुईवटा वाइड बडी एयरबस ल्याएपछि कोरियाका लागि उडान गर्न चाहे पनि उडान अनुमति अझैसम्म पाउन सकेको छैन । युरोपियन युनियनको कालो सूचीका कारण निगमले कोरियामा उडानका लागि अनुमति नपाएको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । उनले उडान अनुमति पाउन अझै केही समय लाग्ने बताए ।
उनका अनुसार निगमलाई दक्षिण कोरियामा सेवा थाल्न हवाई सुरक्षा परीक्षण (सेफ्टी अडिट) को ‘फलामे ढोका’ पार गर्नुपर्ने भएको छ । कालो सूचीमा परेकै कारण कोरियाले निगमसहित नेपालको सेफ्टी अडिट गर्न चाहेको हो । किनभने कोरियाको हवाई सुरक्षा नीति संसारकै कडा मानिन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम कोरियाको हवाई सुरक्षा नीति विश्वकै सबैभन्दा कडा भएको बताउँछन् । उनका अनुसार अब कोरियाली उड्डयन अधिकारीको टोली एकपटक नेपाल आएर नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेपछि मात्रै अनुमति पाइने अवस्था छ ।
गौतमले भने, ‘कोरियामा अनुमति पायौं भने ईयूको कालो सूचीबाट निस्कन पनि सहज हुन्छ । यसले हामी सुरक्षामा कमजोर छैौं भन्ने स्पष्ट सन्देश दिन्छ ।’
सुरक्षा अडिटका लागि कोरियाी टोली नेपाल आउन तयार पनि भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अडिटको गाइडलाइन्स कोरियाले पठाएको छ । त्यो गाइडलाइन्स निगममा पुगिसकेको छ । यसअनुसार अगस्टको अन्तिममा कोरियाली टोली नेपाल आउनेछ ।
हाल निगमका दुबै वाइड बडीले पुराना गन्तव्यहरूमा उडान गरिरहेका छन् । मकालुले बैंककबाट र एयरबस ३२० ‘अन्नपूर्ण’ ले दोहाबाट उडान शुरू गरेका छन् ।
निगमले उडान अनुमति नपाएपछि कोरियामा ग्लोबल सेल्स एजेन्ट नियुक्त गरिसेकेको छ । तीनवटै नयाँ गन्तव्य जापानको नारिता एयरपोर्ट, कोरियाको सियोल र इन्चोनसम्म पनि सीधा उडानकै योजना छ । साउदीको रियाद पनि वाइड बडीले तय गर्ने नयाँ गन्तव्य हुनेछ ।