असोज १९ गतेदेखि तातोपानी नाका खुल्ने |
काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ गते (अक्टोबर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने जानकारी दिए ।
मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो ।
नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्नेछ । ‘हामीले सामान लोड गर्ने मान्छे तयार पार्नुपर्छ । २५ जनाको ग्रुप यसअघि नै थिए, थप २९ जनाको ग्रुप तयार पार्छौं’ प्रजिअ ढकालले भने ।
तातोपानी भन्सार कार्यालय प्रमुख लालाबहादुर खत्रीका अनुसार चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ जना र २९ जनाको दुई वटा श्रमिक समूह तयारी अवस्थामा रहनेछ । श्रमिकको हरेक ५र५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको उनले जानकारी दिए ।