एनसीसी बैंकको मुद्दा परेको हकप्रद शेयर फुकुवा |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको उच्च अदालत पाटनमा परेको हकप्रद शेयरसम्बन्धी मुद्दा शुक्रवार टुंगिएसँगै बैंकले जारी गरिरहेको हकप्रद शेयरले निरन्तरता पाउने भएको छ । मानांक इन्भेष्टमेण्ट प्रालिका सञ्चालक योगेन्द्र राईले एनसीसी बैंकले अन्य संस्था मर्ज गर्नुअघिको नाफाबाट बोनस शेयर दिँदै प्रस्तावित हकप्रद शेयर वितरणलाई स्थगित गर्नुपर्ने भन्दै सो अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि बैंकले जारी गरिरहेको हकप्रद शेयरले निरन्तरता पाएको हो ।
बैंकले मर्जरपछि सबै संस्था एक भइसकेको र बोनस शेयर बाँड्नका लागि कोषमा पैसा नरहेको तर्क प्रस्तुत गरेको थियो । साथै बोनस शेयरको प्रस्ताव नभएको र साधारणसभाले हकप्रद शेयरको प्रस्ताव पारित गरिसकेको बैंकको तर्क थियो । उक्त तर्कमा अदालत सहमत भएकाले अन्तरिम आदेश नदिई हकप्रद शेयर रोक्न नपर्ने फैसला गरेको हो ।
बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गरेको छ । उक्त शेयर भदौ ४ गतेदेखि खुला भएको र असोज ७ गतेसम्म जारी रहने बैंकले जानकारी दिएको छ । यसअघि पनि यस्तै मुद्दामा सर्वोच्च अदालतले बैंककै पक्षमा फैसला सुनाएको थियो ।
४ अर्ब ६७ करोड रुपैयाँ पूँजी रहेको उक्त बैंकको उक्त हकप्रदपछि २ अर्ब ३३ करोडले बढेर ७ अर्ब १ करोड पुग्नेछ । बाँकी ९९ करोड रुपैयाँ पूँजी बैंकले जगेडा कोषबाट बोनस शेयर वितरण गरेर पुर्याउने बैंकको लक्ष्य रहेको छ ।