‘मकालु’को पहिलो उडान थाइल्यान्डको बैंकक |
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसै साताभित्र अन्तरराष्ट्रिय उडान शुरु गर्ने भएको छ । निगमले थाइल्यान्डको बैंककबाट व्यावसायिक उडान सुरु गर्ने जानकारी दिएको छ ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान संचालन अनुमतिपत्र एओसी पाएको मकालुले आउँदो मंगलबारसम्म उडान शुरु गर्ने बताइएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौं अवतरण गरेको थियो ।
निगमको पहिलो वाइडबडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमान गत असार १४ गते आएको थियो । अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान सुरु गरेको थियो ।
पहिलो उडान दोहा भएपनि भारतको नयाँ दिल्लीमात्र उडेको अन्नपूर्णले बिहीबारदेखि बैंगलोर उडान सुरु गरेको निगमले जानकारी दिएको छ । ‘मकालु’ विमानका लागि तीन विदेशी र ६ नेपाली चालक छन् । थप १० विमान खरिद गर्ने योजना बनाएको निगमको इतिहासमा एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलोपटक हो ।