सुर्खेतबाट शुरु भयो लाइसेन्स वितरण |
सुर्खेत । कर्णाली प्रदेशबाट पनि सवारी चालक अनुमति पत्र वितरण थालिएको छ । बिहिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक चालकलाई लाइसेन्स प्रदान गरी वितरण कार्यको शुभारम्भ गरे ।
कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि पहिलोपटक अनुमति पत्र वितरण गरिएको हो । २०७६ माघबाट नै यातायात व्यवस्था कार्यालय सुर्खेतले लाइसेन्सका लागि आवेदन खोलेको थियो ।
नयाँ सवारी चालक अनुमति पत्रका लागि तोकिएको परीक्षा उतिर्ण गरेकाहरुलाई स्मार्ट कार्ड वितरण गर्न सुरु गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले यातायात व्यवस्था संवेदनशील कार्यालय भएको बताए । उनले नागरिकको काममा ढिलासुस्ती हुन नदिन सुर्खेतमै स्मार्ट कार्ड प्रिन्ट गर्ने तयारीमा प्रदेश सरकार लागेको जानकारी दिए ।