डिजिटल इकोनोमी कन्क्लेभ हुदै |
काठमाडौं । काठमाडौंमा कात्तिक १ गते ‘डिजिटल इकोनोमी कन्क्लेभ, २०२०’ आयोजना हुने भएको छ । ब्रान्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा डिजिटल इकोनोमीका सबै सरोकारवालालाई एकै छानामुनी ल्याई यसको भविष्य, सम्भावना र चुनौतीका बारेमा वृहत छलफल गरिने आयोजकले जनाएको छ ।
सूचना प्रविधिको तीव्र विकासले उत्पादन विकास र सेवा प्रवाहमा नवीनता, सरलता र सहजता ल्याएको छ । सूचना प्रविधिलाई विभिन्न क्षेत्रमा अंगीकार गर्दै अघि बढ्ने क्रममा हाम्रो अर्थतन्त्रमा वित्तिय सेवा, व्यापार, उत्पादनमा प्रविधिको उपयोग अभिन्न अङ्ग बन्दै गएका छन् । यसले अर्थतन्त्रको रुपान्तरण र तीव्र विस्तारमा समेत सहयोग पुर्याएको छ । यसै सन्दर्भमा कन्क्लेभ आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा अर्थतन्त्रको डिजिटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरबारे सरोकारवाला माझ छलफल हुने आयोजक संस्था ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गजुरेलले जानकारी दिए । “सुलभ इन्टरनेट सेवा तथा स्मार्टफोन, बढ्दै गएको इन्टरनेट तथा मोबाइल फोनको उपलब्धताले नेपालको अर्थतन्त्रको डिजिटाइजेसनमा लैजाने अवसर दिएको छ,” गजुरेलले भने, “कोरोना भाइरस महामारी नियन्त्रणका लागि कार्यान्वयनमा ल्याइएको लकडाउनले अर्थतन्त्रमा डिजिटाइजेसनको टड्कारो आवश्यकता औंल्याएको छ ।”
कन्क्लेभमा विभिन्न विषयका विज्ञहरूले उनीहरूको हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरूद्वारा गर्नुपर्ने नीतिगत व्यवस्था लगायतबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन् ।
वित्तिय सेवा, भुक्तानी सुविधा, ई-कमर्स सम्बन्धित नीति, नियममनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सम्बन्धमा कन्क्लेभमा बृहत् छलफल हुनेछ । नेपाली ई-कमर्स इकोसिस्टमका सबै सरोकारवालाहरूको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल इकोनोमीका बारेमा नयाँ बहस सुरु गर्ने विश्वास आयोजकको छ ।
नेपालमा डिजिटल भुक्तानी, डिजिटल बैंकिङ, ई-लर्निङ र ई-कमर्सले क्रमशः व्यापकता पाएको छ । कोरोना भाइरस महामारी तथा यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी/निषेधाज्ञाले अर्थतन्त्रका प्रायः सबै अवयवलाई नराम्ररी प्रभावित पारिरहँदा नेपालमा ई-कमर्स र डिजिटल बैंकिङ भने फराकिलो हुँदै गएको छ ।
कोरोना महामारीका कारण नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीबारे जानकारीका साथै यसको प्रयोगको अनुभवसमेत गरायो । नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता सिर्जना गरेको छ । घरमै बसी बैंकमा खाता खोल्ने तथा सेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने, मोबाइल वालेटमार्फत भुक्तानी गर्नेलगायत नयाँ सेवामा नेपाली विस्तारै अभ्यस्त हुँदै गएका छन् ।
अनलाइन कारोबार तथा अनलाइन भुक्तानीको बढ्दो प्रयोगले साइबर सेक्युरीटी ई-कमर्सको महत्त्वपूर्ण हिस्सा रहेको तथ्य उजागर गरेको सन्दर्भमा नेपालमा अनलाइन कारोबार हुने/हुनसक्ने ठगीलाई नियन्त्रण गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाबारे समेत कनक्लेभमा विस्तृत छलफल हुने बताइएको छ ।
डिजिटल इकोनोमीबारेको कन्क्लेभ भएकाले यसको आयोजन पनि डिजिटल माध्यमबाटै गरिनेछ । कन्क्लेभमा डिजिटल अर्थतन्त्रका सम्भावना र चुनौतीका अतिरिक्त, ई-कमर्स, भुक्तानी सेवा र यसको इकोसिस्टम, डिजिटल बैंकिङ, कोभिड-१९ ले दर्शाएको डिजिटल अर्थतन्त्रको आवश्यकता र अनलाइन शिक्षाजस्ता विभिन्न ६ वटा सत्र सञ्चालन हुनेछन् ।