मोबाइल डेटाको मूल्य घटाउने तयारीमा सरकार, भारतको भन्दा १० गुणाले महँगो |
काठमाडौं । छिमेकी मुलुक भारतकोभन्दा नेपाल प्रयोग हुने मोबाइल डेटा दश गुणा महँगो भएको एक सर्वेक्षणले देखाएको छ । केवल यूकेले विश्वव्यापी रुपमा गरेको तुलनात्मक सर्वेक्षणमा नेपाल र भारतको मोबाइल डेटामा करीब हजार प्रतिशत (९५५.५५ प्रतिशत)को मूल्य अन्तर देखिएको हो । छिमेकी मुलुक भारतले विश्वकै सस्तो मोबाइल डेटा प्रयोग गरिरहँदा नेपालले भने भारतको भन्दा करिब दश गुणाले बढी महँगो मोबाइल डेटा प्रयोग गरिरहेको छ ।
सर्वेक्षणले भारतमा एक जीबी डेटा प्याकेजको औषत मूल्य ०.०९ अमेरिकी डलर (१०.६६ रुपैयाँ) मात्र पर्छ । अझ त्यहाँको सबैभन्दा सस्तो ३० दिने प्याकेजमा प्रति जीबी ०.०२ अमेरिकी डलर (२.३५ रुपैयाँ) मात्र पर्न आउँछ । नेपालमा भने १ जीबी डेटाका लागि औषत रुपमा १०४.५३ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ ।
सर्वेक्षणमा विभिन्न भारतीय मोबाइल सेवाप्रदायकका ६० वटा डेटा प्याकेजलाई समावेश गरिएको थियो भने नेपाली मोबाइल सेवा प्रदायक कम्पनीका कुल ३४ वटा डेटा प्याकेज समेटिएको थियो । नेपालमा सबैभन्दा सस्तो प्याकेज डेटाको लागि प्रति जीबी ३१.९२ रुपैयाँ खर्च गर्नुपर्छ ।
विश्वमै सस्तो डेटा हुने मुलुकमा भारतपछि क्रमशः किर्गिस्तान, कजाखस्तान, युक्रेन, रुवान्डा र सुडान लगायतका मुलुक छन् । एक जीबी डेटाको औषत मूल्य कार्गिस्तानमा ०.२७ डलर, युक्रेनमा ०.५१ डलर, रुवान्डामा ०.५६ डलर र सुडानमा ०.६८ डलर रहेको छ ।
एसिया क्षेत्रमा नेपालको डेटा अन्य छिमेकी मुलुक चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, म्यानमार, भियतनाम, इन्डोनेसिया, मंगोलिया, इरान जस्ता देशहरूको भन्दा महँगो छ । सेन्ट हेलेना, फोकल्याण्ड, नौरु, बर्मुडा, मलावी जस्ता देशहरु विश्वकै महंँगो डेटा हुने मुलुकमा पर्दछन् । २२८ औं स्थानमा रहेको सेन्ट हेलेनामा विश्वकै सबैभन्दा महँगो डेटा भएको देश हो ।
प्रति जीबी डेटाको औषत मूल्य पाकिस्तानमा ०.६९ डलर, बंगलादेशमा ०.७० डलर, मंगोलियामा ०.७४ डलर, इरानमा ०.७५ डलर र म्यानमारमा ०.७८ डलर रहेको छ । त्यसैगरी इन्डोनेसियामा ०.६४ डलर, चीनमा ०.६१ डलर भियतनाममा ०.५७ डलर र श्रीलंकामा ०.५१ डलर पर्छ ।
यद्यपि २२८ मुलुक समेटिएको यो अध्ययनमा नेपाल ३१ औं सस्तो मुलुक हो । २३० देश समेटिएको दुई वर्ष अघिको सर्वेक्षणमा नेपाल ४५ औं स्थानमा रहेको थियो । दुई वर्ष अघि एक जीबी डेटाको औषत मूल्य २५६.५३ रुपैयाँ पर्ने नेपालले दुई वर्षको अवधिमा १४ स्थान सुधार गरेको हो ।
मोबाइलमा अलि बढी भएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ । यसलाई घटाउन प्राधिकरण पहल गरिरहेको छ । आगामी दिनमा फोजीको विस्तार हुँदै जाँदा डेटा पनि सस्तो हुँदै जाने प्राधिरकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।