स्याफ्रुबेसी–रसुवागढी सडक चीनले बनाउने | डीपीआर स्वीकृत
काठमाडौं । स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम आगामी अक्टोबरबाट सुरु हुने भएको छ । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरेर यो खण्डको स्तरोन्नतिको लागि चीनले विस्तृत परियोजना प्रतिवेदन तयार गरि सडक विभागलाई बुझाएको थियो । सडक विभागले त्यसलाई स्वीकृत गरेकाले अब निर्माणको काम अघि बढ्न लागेको हो । चीनले स्तरोन्नति गर्ने यो सडक खण्ड १६ किलोमिटर लामो छ ।
अहिले यो सडकमा एउटा गाडीलाई पनि चल्न मुस्किल पर्ने अवस्था छ । केही ठाउँमा जटिल भूगोल भएकाले स्तरोन्नतिको काम चुनौतिपूर्ण छ । यो सडक चीनले अनुदान सहयोगमा बनाइदिन लागेको हो । यसका लागि चीनले आफैं टेन्डर गरेर सडक स्तरोन्नति गनरिदिनेछ ।
चीनले पेश गरेको डिजाइन स्वीकृत भएकाले अब यो सडक खण्ड दुई लेनमा विस्तार गर्ने गरी काम अघि बढ्ने छ । विभागले अब सडक सीमाभित्र रहेका घर टहरा हटाउने र विद्युतका पोल सार्ने लगायतका काम गर्नेछ । त्यसलगत्तै चीनले सडक निर्माणको काम सुरु गर्ने बताइएको छ ।
यसअघि नै नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । चीनसँग जोड्ने मैलुङ–स्याफ्रुबेशी सडक सञ्चालनमा आएपनि स्याफ्रुबेसी रसुवागढी सडक खण्ड स्तरोन्नति हुन बाँकी छ । चीनले ३ वर्षभित्र यो सडकको स्तरोन्नति सकाउने बताइएको छ ।