पोखरा विमानस्थलको टर्मिनल भवन निर्माण कार्यको शिलान्यास |

काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तरगतको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल भवनको निर्माण कार्य सुरू भएको छ । हिजो बुधबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले १४ हजार स्क्वायर मिटरमा बन्ने टर्मिनल भवन निर्माण कार्यको शिलान्यास गरेका हुन्। ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार ८ हजार स्क्वायर मिटर अन्तरराष्ट्रिय उडान र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुनेछ ।
यात्रुहरू जहाजमा जनाका लागि टर्मिनल भवन प्रयोग गर्नुपर्ने हुन्छ । विमानस्थलको निर्माणका काम अहिलेसम्म १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । विमानस्थलको डिजाइन पनि टुंगो लागेको छ । सोही अवसरमा डिजाइन सार्वजनिक गरिएको थियो ।
पोखराको भौगोलिक अवस्था अनुसार १ सय ९२ सिट क्षमताको जहाज मात्र उड्ने र त्यसका लागि अहिलेको २ हजार ५ सय मिटरको रन वे नै पर्याप्त रहेको मन्त्री रवीन्द्र अधिकारीले बताए । एक महिनापछि रन वे निर्माणको काम सुरू हुने र सन् २०१९ को जुन⁄जुलाईसम्म सम्पन्न गर्ने मन्त्री अधिकारीले बताए ।
सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सिएएमसीलाई ठेक्का दिएको थियो । निर्माण गर्ने र निर्धारित समयमा नसके क्षतिपूर्ति समेत सरकारलाई दिनुपर्ने सर्त भएको इपीसी मोडलमा सिएएमसीले ठेक्का लिएको हो । निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई विमानस्थल निर्माणका लागि दिएको र त्यसैले विमानस्थल निर्माणको काम भइरहेको छ । ३७ सय रोपनीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य भइरहेको छ ।