तीन जिल्लाका पाँचवटा एकीकृत बस्तीले पाए स्वीकृति |
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन जिल्लाका पाँच वटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । स्वीकृत पाउने बस्तीहरु सिन्धुपालल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लाका रहेका छन् ।
सिन्धुपाल्चोकमा हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका १२ स्थिति नम्डोललिङ एकीकृत बस्ती र भोटेकोशी गाउँपालिका ५ को त्याङथाली एकीकृत नमूना बस्ती योजनालाई स्वीकृत गरेको हो । हेलम्बुको एकीकृत बस्तीमा ४०, मेलम्चीमा ७० र भोटेकोशीमा १० घर रहने पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका ८ मा २४ घरको गाइखुरा एकीकृत बस्ती र काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका १० तीनधारामा ३७ घरको होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाइहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का लागि इन्जिनियरसहित ३ हजार २ सय ५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का लागि ७ सय ४ जना छन् ।