बोर्डद्वारा एनआईसी एशियालाई ऋणपत्र निष्कासन गर्न अनुमति |
काठमाडौं । एनआईसी एशिया बैंकलाई ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार बैंकलाई १ अर्ब ८३ करोड रुपैयाँबराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल ऋणपत्रमध्ये ८० प्रतिशत अर्थात् १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ व्यक्तिगत र २० प्रतिशत अर्थात ३६ करोड ६० लाख रुपैयाँ सर्वसाधारणका लागि विक्री खुला हुनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
११ प्रतिशत वार्षिक ब्याज तोकिएको उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार प्रस्तावित ११ प्रतिशत ब्याज भएको उक्त ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी गर्ने अवसर हुने बैंकले बताएको छ । बैंकले पूँजीगत आधार मजबुत बनाउन ऋणपत्र निष्कासन गर्न लागेको बताएको छ ।