कलंकीको अण्डरपास एक साताका लागि बन्द, जाम जस्ताको तस्तै |

काठमाडौं । परीक्षणका रूपमा सञ्चालनमा आएको कलंकीको नेपालकै पहिलो अण्डरपास वे परीक्षणका रूपमा सञ्चालनमा आए पनि आज बिहानैदेखि पुनः बन्द भएको छ । अण्डरपास वे बन्द गरिएपछि ट्राफिक जामको सास्ती खेप्दै आएका सार्वसाधारण यात्रुले फेरि उस्तै सास्ती खेप्न बाध्य हुने भएका छन् । उक्त अण्डरपास वेमा अन्तिम कालोपत्र र पेण्टिङलगायतका काम सम्पन्न हुन बाँकी रहेकाले उक्त कार्य सम्पन्न गर्नका लागि चक्रपथ सुधार आयोजनाले एक साताका लागि उक्त अण्डरपास बन्द गरेको हो ।
आयोजनाले एक सातापछि पुनः अण्डरपास सञ्चालन गर्ने जानकारी गराएको छ । चीन सरकारको सहयोगमा चक्रपथ सुधार परियोजनाअन्तर्गत निर्मित उक्त अण्डरपास यही भदौ १ गतेदेखि परीक्षणका रुपमा सञ्चालन भएको थियो । यो अण्डरपासको लम्बाइ ८ सय मिटर रहेको छ ।