कालीमाटी तरकारी बजार खुले पनि आपूर्ति घट्यो |
काठमाडौं (आपास) । सरकारी अनुगमन टोली र कालीमाटी तरकारी बजारका व्यवसायीबीच धरपकड भएपछि सरकारी अनुगमनको विरोधमा बन्द भएको तरकारी बजार आजदेखि खुलेको छ । तरकारी बजार खुले पनि यहाँ पहिलेजस्तो तरकारीको उपलब्धता भने नरहेको पाइएको छ ।
तरकारी तथा फलफूलको आपूर्तिमा केही कमी आएको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए । उनले भने, ‘देशका विभिन्न स्थानबाट कालीमाटी बजारमा दैनिक साढे ५ सय टनसम्म तरकारी तथा फलफूल भित्रिने गर्छ । तर आज करिब ४ सय टन मात्र भित्रिएको छ ।’ मंगलबार अबेर मात्र आन्दोलन फिर्ता लिएका कारण पनि सूचना समयमा पुग्न नसकेकाले तरकारी आपूर्तिमा कमी आएको उनको भनाइ छ ।
सोमबारको अनुगमनपछि व्यवसायीले कालीमाटी बजारमा तरकारीको बिक्री–वितरण ठप्प पारेका थिए । जसका कारण राजधानीका उपभोक्ता समेत मारमा परेका थिए ।