देशका प्रमुख शहरमा फोर जी विस्तार गर्ने तयारी |
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताएका छन । उनले भने, ‘सञ्चार तथा सूचना प्रविधिको विकास तथा विस्तार कार्यलार्ई तिब्र गतिमा अगाडि बढाउन मन्त्रालयले कार्ययोजना बनाइ तोकिएको अवधिमा तोकिएको काम सम्पादन गर्नेछ ।’
सङ्घीय संसद् विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बाँस्कोटाले मन्त्रालयले सबै भूगोललाई समान विकासमा जोड दिएको बताए । असल व्यवस्थापन कायम गर्दै मन्त्रालयले आफ्नो कार्यक्षेत्रका कामलाई प्रभावकारी बनाउने र आगामी दिनमा दूरसञ्चार सेवा र क्षेत्र विस्तार गर्ने नीति रहेको बताए ।
नेपाल टेलिकमको सेवा र क्षेत्र विस्तार गर्न अगामी ६ महिनाभित्र देशका विभिन्न स्थानमा ६३८ टावर जडान सम्पन्न हुने, दूरसञ्चार प्रविधिको चौंथो पुस्ता (फोर जी) देशका प्रमुख शहरमा विस्तार गर्ने र पाँचौं पुस्ता (फाइव जी) भित्रयाउने तथा सबै पालिकामा इन्टरेटको पहुँच पुर्याउने लक्ष्य रहेको मन्त्री बाँस्कोटाले बताए ।