माथिल्लो त्रिशूली ३ बीको लगानी व्यवस्थापन सम्पन्न, तीन वित्तीय संस्थाले गर्ने भए पौने ६ अर्ब लगानी | ३ वर्षभित्रमा बिजुली उत्पादन गरिने
काठमाडौं । माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनामा तीन वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगावाट क्षमताको उक्त आयोजनामा नबिल बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंकले ५ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् ।
ऋण लगानी सम्झौतापत्रमा जलविद्युत् कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाट नबिलका कर्पोरेट विभाग प्रमुख ज्ञानेश्वर आचार्यले हस्ताक्षर गरेका हुन् ।
आयोजना निर्माणको काम चीनको सिचुवान एनहे हाइड्रोलिक इञ्जिनियरिङ कम्पनी लिमिटेडले गरिरहेको छ ।
उक्त आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०÷३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहनेछ ।