नोटवन्दीबारे अहिले नसोचौं : गभर्नर नेपाल |
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटवन्दीका विषयमा अहिल्यै सोच्नु नहने बताएका छन् । उनले नोटवन्दीको विषय संवेदनशील भएको भन्दै नोटबन्दीमा भारतले भारुको अन्तरराष्ट्रिय विश्वसनीयता गुमाउनुपरेको उल्लेख गरे । उनले संघीय संसद्को अर्थ समितिको बैठकमा त्यस्तो धारणा राखेका हुन् ।
नेपालमा नोटवन्दी गर्ने बेला अझै आइनसकेको उनको भनाइ थियो । सांसदहरूले कालो धनलाई समाप्त पार्न नोटबन्दीको प्रस्ताव गरेका बेला उनले भारतको उदाहरण दिँदै नोटबन्दीका बारे सोच्न नहुने धारणा राखेका हुन् । उनले भने, ‘नोटवन्दीबन्दी संवेदनशील विषय हो, त्यसैले यसबारे अहिले नसोचौं ।’
संघीय संसदअन्तर्गतको अर्थ समितिको बैठकमा नेकपाका सांसद महेश बस्नेतले नेपालमा कालो धन कारोबार बढ्दै गएको भन्दै नोटबन्दीको प्रस्ताव गरेका छन् । उनले तत्कालै ५०० र १००० दरका नयाँ नोट छापेर प्रचलनमा ल्याउन माग गरेका छन् ।