अनलाइन कारोबार गर्न घरमै बसेर युजरनेम तथा पासवर्ड लिन सकिने |
काठमाडौं । सेयर बजारमा अनलाइन कारोबार गर्नका लागि लगानीकर्ताले अब घरबाटै आफ्ना विवरणहरु भरेर पठाउन सक्ने भएका छन् । अनलाइन कारोबार गर्नका लागि आवश्यक युजरनेम र पासवर्ड लिन अब लगानीकर्ताहरु ब्रोकर कार्यालयसम्म धाउनु नपर्ने भएको हो । साथै, अनलाइनमार्फत नै केवाइसी पनि अद्यावधिक गर्न सकिनेछ ।
कोभिड–१९ महामारीलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी दोस्रो बजार कारोबार गर्न∕गराउन नेप्सेले अनलाईन कारोबारलाई थप सहज बनाउने तथा नेप्से तथा सदस्य दलाल व्यवसायीले प्रदान गर्दै आइरहेको सेवालाई मानवीय सम्पर्क यथासम्भव कम गरी सञ्चालन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।
लगानीकर्ताले अनलाईन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिने तथा ग्राहक पहिचान विवरण (केवाइसी) लाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरुको टिएमएस लिंकमा (https://newweb.nepalstock.com.np/brokers) अनलाईन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको छ ।
उक्त लिंकमा गई रजिस्टर लेखिएको ठाउँमा क्लिक गरेपछि आफ्ना विवरणहरु भरेर युजरनेम तथा पासवर्ड लिन तथा केवाइसी अद्यावधिक गर्न सकिनेछ ।
यसबाट बढीभन्दा बढी प्रयोगकर्ताहरु अनलाइन कारोबारमा सहभागी हुन सक्ने विश्वास नेप्सेले लिएको छ ।