अनलाइन शेयर आवेदनमा ओभर ट्राफिक, एकै पटकमा ५० हजारको आवेदन |
काठमाडौं । यस अघिको निष्कासनमा एकै पटकमा १६ हजार आवेदनकर्ताले आवेदन पर्ने गरेको रेकर्ड रहेको थियो । बिहीबार भने एकै पटकमा ५० हजारको सङ्ख्यामा आवेदन पर्न थालेपछि नयाँ रेकर्ड कायम भएको छ ।
प्राथमिक शेयरमा आवेदनकर्ता तीन गुणाले बढेका हुन् । एकै पटक तीन गुणाले आवेदनकर्ता बढेपछि अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ ।
एकै पटक तीन कम्पनीको प्राथमिक शेयर निष्कासन भएपछि यो सङ्ख्या ह्वात्तै बढेको हो । लकडाउनका कारण बैक तथा वित्तीय संस्थाका शाखा मार्फत आवेदन दिनेले समेत अनलाइनबाटै आवेदन दिएपछि यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
‘यस अघि एकै पटकमा १६ हजार आवेदनकर्ताले आवेदन गर्ने गरेको रेकर्ड थियो । बिहीबार भने एकै पटकमा ५० हजारको सङ्ख्यामा आवेदन पर्न थालेको छ’ न्यौपानेले भने । आवेदन वृद्धि भएसँगै अनलाइन आवेदनको ट्राफिक समेत एकै पटक बढेको छ । जसका कारण अनलाइन आवेदनमा आवेदनकर्ताले केही पालो कुर्नु पर्ने भएको छ ।
यति बेला भौतिक रुपमा बैक वित्तीय संस्थामार्फत आवेदन दिने घटेका छन् । सबैजसो लगानीकर्ताले घरबाटै अनलाइन मार्फत प्राथमिक शेयरमा आवेदन दिन थालेका छन् । बिहीबार सम्म अनलाइनबाट लिबर्टि इनर्जिमा ४४ हजार दुई सय, समाज लघु वित्तमा २५ हजार दुई सय र रिलायन्स इन्स्योरेन्समा २३ हजार दुई सयले आवेदन दिएका छन् ।
जबकि अफ लाइन बैक वित्तीय संस्थामै गएर लिबर्टि इनर्जिमा ४८ सय, समाज लघु वित्तमा आठ सय ५० र रिलायन्स इन्स्योरेन्समा जम्मा पाँच सय २० मात्रै आवेदन परेको न्यौपानेले बताए ।
बिहीबारसम्म लिबर्टि इनर्जिमा १९ करोड ६० लाख रुपैयाँ बराबरको १९ लाख ६० हजार कित्ता, समाज लघु वित्तमा नौ करोड १५ लाख रुपैयाँ बराबरको नौ लाख १५ हजार कित्ता र रिलायन्स इन्स्योरेन्समा २० करोड ७५ लाख रुपैयाँ बराबरको २० लाख ७५ हजार कित्ताको लागि आवेदन परेको हो ।
निष्कासित शेयरमा समाज लघु वित्तमा माग बढी आवेदन परेको छ भने रिलायन्स र लिबर्टिको शेयर भने अझै बिक्री हुन बाँकी छ । समाजले ८६ हजार कित्ता शेयर निष्कासन गरेको हो भने लिबर्टिले ३५ लाख ६४ हजार र रिलायन्सले ६३ लाख कित्ता शेयर निष्कासन गरेको हो ।
अनुमान भन्दा बढीको आवेदन पर्न थालेपछि क्षमता बिस्तार गर्नु पर्ने निष्कर्षमा केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) पुगेको छ । चौतर्फी रुपमा लगानीको वातावरण अवरोध देखिएको बेला प्राथमिक शेयरमा सबैजसो लगानीकर्ताले अनलाइनवाटै आवेदन गर्न थालेपछि क्षमता विस्तार गर्नु पर्ने निष्कर्षमा सिडिएससि पुगेको न्यौपानेले बताए ।