समाज लघुवित्तको आईपीओ आजबाट खुला, भदौ ८ गतेसम्म आवेदन दिन सकिने |
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आज भदौ ४ गतेदेखि आईपीओ निष्काशनमा ल्याएको छ । लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो ।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ । त्यस अवधिमा माग अनुसारको आवेदन नपरे ढिलोमा भदौ १८ गतेसम्म खुल्नेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।